केन्द्रमा एक खालको समीकरण बनेर विभिन्न प्रदेशमा सोही अनुसार सरकार गठन प्रक्रिया अघि बढ्दा मधेसमा भने केही भिन्न परिदृश्य देखिएको छ ।
केन्द्रको सत्ता गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस सरकारमा भने सहभागी भएको छ । लोसपा नेपालले मधेस सरकार छाडेको छैन र मुख्यमन्त्री सरोजकुमार यादवले पनि लोसपालाई सरकारबाट हटाएका छैनन्
कांग्रेस–माओवादीको गठबन्धन भङ्ग भएर एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनेसँगै कांग्रेस भने मधेस सरकारबाट बाहिरिइसकेको छ । त्यसअघि जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको थियो ।
लोसपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेश सभा सदस्य जितेन्द्र सोनलले भने, ‘हालसम्म वर्तमान सरकारलाई हाम्रो समर्थन कायम छ तर सरकारको पर्फमेन्स राम्रो नदेखिएको कारण यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिँदैछन् । लोसपाले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन । यद्यपि नयाँ गठबन्धन बन्ने बित्तिकै मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए । अध्यक्ष ठाकुरले अर्को निर्णय नभएसम्म समर्थन कायम रहने जवाफ दिएर मुख्यमन्त्री यादवलाई फर्काएका थिए ।
उपाध्यक्ष सोनलले हाल लोसपाले मधेस सरकारलाई पुरानै समर्थनको निरन्तरताका रुपमा लिएको बताए । उनले भने, ‘जसपाले लोसपालाई सरकारबाट हटाएको छैन, नयाँ गठबन्धन अनुसार विश्वासको मत पनि नलिएका कारण अहिलेसम्म हामीले पुरानै समर्थनलाई निरन्तरता दिएका हौँ ।
मधेस सरकारले राम्रो काम गर्न नसकेको जिकिर गर्दैै उनले अब भने सरकारलाई समर्थन दिने कि नदिने भन्नेबारे सोच्न बाध्य बनाएको प्रस्ट पारे ।
सोही पार्टीका महासचिव मनिष मिश्रले जसपाले लोसपालाई अहिलेसम्म नहटाएको र हट्न पनि नभनेका कारण लोसपाले समर्थन कायम राखेको बताए । वैशाख ३ गते विश्वासको मत दिने कि नदिने भन्नेबारे पार्टीले छिट्टै निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकार नयाँ गठबन्धनको सरकार होइन, पुरानै गठबन्धनको सरकार हो । त्यही सरकारमा एमाले र नेकपा एकीकृत समाजवादीलाई ल्याएको हो । नयाँ गठबन्धन अनुसार सरकार बनेपछि मात्र हामीले त्यो सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय गर्छौं ।
मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिएपछि मात्र नयाँ गठबन्धनको सरकार भनेर बुझिने उनको भनाइ छ । त्यसअघि पुरानै गठबन्धनको सरकार भएका कारण लोसपाले समर्थन कायम राखेको उनको तर्क छ । लोसपाबाट मधेस सरकारमा रमेश प्रसाद कुर्मी वन तथा वतावरण मन्त्री छन् ।